बागलुङ नगरपालिकाले बागलुङ बजारका सबै घरमा रङगरोगन गर्न अनुरोध गरेको छ । बजार सुन्दर बनाउन नगरपालिकाले अव्यस्थित तार र पोलको व्यवस्थापन समेत गर्न लागेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । उहाँले यसका लागि नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम तथा निजी इन्टरनेट प्रदायक कम्पनीसँगको सहकार्यमा पुराना तार र जीर्ण अवस्थामा रहेका तथा प्रयोगविहीन विद्युत्का पोल हटाउने अभियान सुरु गरिएको बताउनुभयो । नगरपालिकाले पुराना तार तथा अन्य संरचना हटाउन लागेको भन्दै नगरवासीलाई घरमा रङगरोगन गरी सहयोग गर्न आग्रह समेत गरेको छ । बजारमा सडक अवरोध हुने गरी गाडिएका पोलका कारण ट्राफिक व्यवस्थापनमा समेत समस्या हुँदै आएको थियो । बजारको सौन्दर्यीकरणमा समेत असर गरेकोले जीर्ण तथा प्रयोगविहीन पोल र अव्यवस्थित तार हटाउन सुरु गरेको बागलुङ नगरपालिका–२ का वडा सदस्य, पोल तथा तार एवं बजार व्यवस्थापन समितिका संयोजक अर्जुन घिमिरेले बताउनुभयो । उहाँले पहिलो चरणमा बजारका मुख्य सडकमा रहेका एक सय १० वटा पोल हटाइने जानकार दिनुभयो । जसअन्तर्गत हालसम्म ३५ पुराना पोल हटाइएको छ । “पहिलो चरणमा नगरपालिकाको वडा नं. १, २, ३ र ४ मा रहेको बजार क्षेत्रका एक सय १० वटा पोल हटाउन लागिएको हो”, घिमिरेले भन्नुभयो । नगरपालिकाले गतवर्ष पनि बजार क्षेत्रका केही अव्यवस्थित पोल हटाए पनि बीचमा काम रोकेको थियो ।।