धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमा छ । नगरपालिका कार्यालय सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पु¥याउने काममा समेत जुटिरहेको छ । नागरिकको अवस्था के छ, के–कस्तो उपचार आवश्यक छ पत्ता लगाउन धमाधम सर्वेक्षण गर्ने योजना नगरले बनाएको हो । नगरका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सबै स्वास्थ्य केन्द्रमा निःशुल्क उपलब्ध गराइने ६५ थरिका औषधि पर्याप्त बनाइने तथा सबै नागरिकलाई आरोग्यता प्रदान गर्न उहाँहरूको अवस्था बुझ्न सर्वेक्षण गरिरहेको नगरप्रमुख अशोककुमार ब्याञ्जूले बताउनुभयो । “नगरभित्रका स्वास्थ्य केन्द्रलाई चुस्तदुरुस्त बनाइनेछ, स्वास्थ क्षेत्रमा गुनासा नआउने गरी अभियान नै थालिएको छ”, उहाँले भन्नुभयो । यस्तै धुलिखेल नगरले सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न ‘खाद्य हरियाली सहर’ कार्यक्रमको समेत योजना बनाएको छ । यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरपालिकाबीच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको छ । वैज्ञानिक माध्यमबाट नगरलाई दिगोरूपमा खाद्य हरियाली सहर बनाउन नगरसँग सम्झौता गरिएको नगरप्रमुख ब्याञ्जूले बताउनुभयो । उक्त कार्यक्रमले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्या समाधानार्थ दिगोरूपमा वैज्ञानिक ढङ्गबाट नगर सफा–सुन्दर हुने जनाइएको छ । यो कार्यक्रमले केही हदसम्म बेरोजगारी घट्नेछ भने स्थानीय स्रोतको पहिचान र उपयोग गर्न सकिने बताइन्छ । नगरले लिएको ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न यस कार्यक्रमले ठूलो मद्दत पु¥याउने अपेक्षा गरिएको छ ।