कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रशारण लाइन निर्माणका लागि बाटो खुलेको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने १७५ रोपनी जग्गा प्रयोग गरेवापत नेपाल विद्युत् प्राधिकरणले सट्टाभर्ना वापत जग्गा दिनेभएपछि निर्माणको बाटो खुलेको हो । हाल निकुञ्ज अन्तर्गतको जग्गा विद्युत् प्राद्यिकरण प्रयोग गरे वापत अर्को जग्गा निकुञ्जलाई दिनका लागि प्रक्रिया सुरु भएपछि अवरोध हटेको कर्णाली प्रदेश विद्युत् प्राद्यिकरणका प्रमुख शम्भु कुसियात यादवले बताउनुभयो । एक सय ३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याउन कोहलपुरदेखि सुर्खेतसम्म एक सय ६२ वटा पोल राख्नुपर्ने हुन्छ । जसका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्र ७४ वटा पोल गाड्नुपर्ने विद्युत प्राधिकरणले जनाएको छ । जसमा ७४ पोलका लागि ४३ हेक्टर जमिन आवश्यक पर्छ । प्राधिकरणका अनुसार प्रसारणलाइन विस्तार गर्दा १३ हजार ५४ वटा रुख कटानमा पर्दछन् । आयोजना निर्माण क्षेत्रमा सुर्खेतको बीरेन्द्रनगर, भेरीगङ्गा र लेकबेँसी नगरपालिकासहित बर्दिया र बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका पर्छ ।