उहाँ हुनुहुन्छ, रैजमुन खातुन । घर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँ । उहाँले दुई लाख ५० हजार लगानी गरेर चार बिघा खेतमा धानखेती गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “साहुबाट ऋण सापटी लिएर लगानी त गरेँ तर समयमा सिँचाइ र मल नहुँदा सोचेजस्तो धान उत्पादन हुने सम्भावना देखिँदैन ।” खेत पनि आफ्नै होइन, प्रायजसो खेत भाडाको हुन्छ जसको कुत तिर्नुपर्छ साहुलाई । “ गिरहत ( भाडा) को कर र वर्ष दिनको खाद्यानको जोहो गर्न पनि धौधौ छ”, रैजमुन भन्नुहुन्छ, “धानखेतीका लागि लिएको ऋण चुक्ता गर्न पाएको छैन, गहुँखेती कसरी गर्ने भन्ने तनावले पिरोलिन थालेको छ ।” पछिल्लो समयमा मल र बीउ नपाएर गहुँखेती राम्ररी गर्न नपाएका यहाँका कृषक यस वर्ष पनि उस्तै पीडामा छन् । आउने मौसममा अवस्था सध्रिएला भन्ने आशमा रहेका किसानसँग प्रत्येक उही तनाव, उही चुनौती र उस्तै पीडा रहने गरेको अर्का किसान चन्द्रनारायण मण्डल बताउनुहुन्छ । “किसानको समस्या समाधानका नाममा राज्यसँग एक थान आश्वासन मात्रै हुन्छ कि आउने मौसममा मलको अभाव हँुदैन, समयमै बीउबिजनको व्यवस्था गरिन्छ, सिँचाइको प्रवद्र्धन मिलाइने छन् । तर, आखिर कहिले ?”, प्रश्न गर्दै मण्डल भन्नुहुन्छ, “ आश्वासनले मात्रै किसानको समस्या सामाधान हुने होइन ।”