पौराणिक प्रचलनअनुसार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज सीताराम विवाह महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले विशेष महोत्सवका रूपमा विवाह महोत्सव मनाउने गरेका हुन् । महोत्सवमा सहभागी हुन अहिले लाखौँ श्रद्धालु भक्तजनले जानकी मन्दिरलगायत यहाँस्थित देवालयमा आज बिहानैदेखि पूजाअर्चना गरिरहेका मन्दिरका महन्थ रामतपेश्वर दासले बताउनुभयो । उहाँका अनुसार सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासीले महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुने गर्दछन् । मैथिल साहित्यकार डा राजेन्द्र विमल भन्नुहुन्छ, “संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखेर रङ्गभूमिमा लगी स्वयम्बर र परीक्षण विधि सम्पन्न गर्ने र जानकी मन्दिरमा ल्याएर विवाह संस्कार सम्पन्न गरिन्छ । सो अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् ।” राजर्षी जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि मार्ग शुक्ल पञ्चमीमा राम जानकी विवाहपञ्चमी मेला आयोजना गरिन्छ ।