मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद हुनुभएको छ । माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा उहाँमात्रै निर्वाचित हुनुभएको छ । सर्लाही दुईबाट सत्ता गठबन्धनकै सहयात्री दल लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै राय निर्वाचित हुनुभएको हो । रायले २३ हजार पाँच सय २९ मत पाउँदा महतोले २१ हजार पाँच सय १८ मत प्राप्त गर्नुभयो । मधेस प्रदेशमा माओवादीले धनुषा–१, महोत्तरी–१, सिरहा–३ र सर्लाही–२ मा उम्मेदवारी दिएको थियो । धनुषा–१ मा पार्टीका उपमहासचिव मातृका यादव जनता समाजवादी पार्टीका दीपक कार्कीसँग पराजित हुनुभएको छ । महोत्तरी–१ मा उपमहासचिव गिरिराजमणि पोखरेल नेकपा (एमाले) नेता लक्ष्मी महतो कोइरीसँग र सिरहा–३ मा विश्वनाथ साह एमाले नेता लीलानाथ श्रेष्ठसँग पराजित हुनुभयो । विसं २०७४ मा राष्ट्रिय जनता पार्टीबाट सोही क्षेत्रबाट निर्वाचित राय अहिले पनि माओवादी होइनन् । उहाँ डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको अध्यक्ष हुनुहुन्छ । पार्टी फरक भए पनि उहाँ यसपटक गठबन्धनका कारण माओवादी केन्द्रको चुनाव चिह्न हसियाँ हथौडा लिएर चुनावमा होमिनु भएको थियो ।