मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा फिल्मकर्मीहरूले दिएको उम्मेदवारीको राम्रै चर्चा भयो । प्रायः पार्टीको प्रचारप्रसारमा मात्र देखिने फिल्मकर्मीहरू यसपटक चुनावी मैदानमा देखिए । रिल लाइफबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या उच्च थियो । यद्दपि सफलता पाउनेको सङ्ख्या निकै कम छ । प्रत्यक्षको तुलनामा समानुपातिकमा फिल्मकर्मी सांसद बन्ने सम्भावना बढेको छ । राष्ट्रियसभा सदस्य रहिसक्नुभएकी गायिका कोमल वलीले नेकपा (एमाले)बाट दाङको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको थियो । उहाँलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले पराजित गर्नुभयो । गायिका वलीले २९ हजार ९२ मत प्राप्त गर्दा निर्वाचित गिरीले ३६ हजार नौ सय ११ मत प्राप्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मोरङ क्षेत्र नं ३ मा उम्मेदवारी दिनुभएकी अभिनेत्री रेखा थापा १० हजार नौ सय ९८ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित हुनुभयो । सो क्षेत्रमा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा निर्वाचित हुनुभयो । काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका फिल्म निर्देशक तथा समीक्षक मनोज पण्डितले एक सय ७३ मत मात्र प्राप्त गर्नुभयो । उहाँले आफूले प्राप्त गरेको मतको सम्मान गर्दै सक्रियता बढाउने बताउनुभयो । “उम्मेदवारी दण्डहिनताका विरुद्ध थियो । सामाजिक व्यवस्थापनका लागि आवाज सधँै उठाइरहनेछु”, निर्देशक पण्डितले भन्नुभयो । काठमाडौँ क्षेत्र नं ६ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका गायक सञ्जय श्रेष्ठले पाँच सय ७७ मत मात्र प्राप्त गर्नुभयो । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल निर्वाचित हुनुभयो । काठमाडौँ क्षेत्र नंम्बर १ को प्रदेश (२) मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) तर्फ उम्मेदवारी दिनुभएका फिल्म अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले ६७ मत प्राप्त गर्नुभयो । “यसपटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिनुभएका फिल्मकर्मीले केही न केही सिक्नुभएको छ, चुनावी मैदानको सिकाइले आउँदो समयमा यसक्षेत्रमा विकास गर्न र एकताबद्ध हुन् मद्दत गर्नेछ”, वितरक श्रेष्ठले भन्नुभयो । सो क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछाने निर्वाचित हुनुभयो । यस्तै कमेडियन हिमेश पन्त, टेलिभिजन शङ्खला ‘सक्किगो नि’मा ‘सिते बा’ को भूमिकाबाट परिचित मधुसुधन पाठक, कलाकार सम्राट सापकोटा, कलाकार राज तिमल्सेनाले निर्वाचनमा हार बेहोर्नुप¥र्यो । प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यतर्फ धादिङको क्षेत्र नं १ को (१) बाट उम्मेदवारी दिनुभएका निर्माता तथा अभिनेता मधुकुमार श्रेष्ठ र प्यूठान–१ को (२) बाट प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिनुभएका फिल्म निर्माता तथा अभिनेता रोज राणा (सरोज थापा) निर्वाचित हुनुभएको छ । निर्माता श्रेष्ठले १७ हजार आठ सय ३२ र निर्माता राणा २२ हजार पाँच सय १९ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।