मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब चार स्थानको नतिजा आउन बाँकी छ । अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ । नतिजा आउन बाँकी चार स्थानमध्ये एक स्थानमा नेपाली कांग्रेस, दुई स्थानमा माओवादी केन्द्र र एक स्थानमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अगाडि छन् । निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको परिणामअनुसार नेकपा (एमाले) र नेपाली कांग्रेसले सात÷सात स्थानमा जितेको छ । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पाँच क्षेत्रमा निर्वाचित भएका छन् । अहिलेसम्म कुनै पनि स्थानमा जित निकाल्न नसकेको माओवादी केन्द्रका उम्मेदवार दुई स्थानमा अगाडि छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तीन, स्वतन्त्रले तीन, एकीकृत समाजवादीले दुई र जनमत पार्टीले एक स्थानमा जित निकालेको छ । एमालेका सात उम्मेदवार क्रमशः सिरहा क्षेत्र नं १ मा रामसंकर यादव, धनुषा ३ मा जुली महतो (महासेठ), सर्लाही ३ मा हरिप्रसाद उप्रेती, बारा १ मा अच्युतप्रसाद मैनाली, पर्सा ३ मा राजकुमार गुप्ता, सिरहा निर्वाचन क्षेत्र नं ३ मा लिलानाथ श्रेष्ठ र बारा निर्वाचन क्षेत्र नं ३ मा ज्वालाकुमारी साह निर्वाचित हुनुभएको हो । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार विभिन्न जिल्लाका सात स्थानमा निर्वाचित भएका छन् भने परिणाम आउन बाँकी एक स्थानमा अगाडि छ । अहिलेसम्म निर्वाचित हुने कांग्रेस उम्मेदवारमा सप्तरी क्षेत्र नं ३ मा दिनेशकुमार यादव, धनुषा क्षेत्र नं २ मा रामकृष्ण यादव, रौतहट ४ मा देवप्रसाद तिमलसेना, पर्सा २ मा अजयकुमार चौरसिया, पर्सा ४ मा रमेश रिजाल, सप्तरी ४ मा तेजुलाल चौधरी र महोत्तरी ४ मा महेन्द्रकुमार राय हुनुहुन्छ । धनुषा ४ मा सहमहामन्त्री महेन्द्र यादव अगाडि हुनुहुन्छ ।