ऐतिहासिक राजा मानदेवले बसालेको बस्ती गोकर्णेश्वर नगरपालिका–४ ‘गोकर्ण देशे गाउँ’ को खानेपानी समस्या समाधान गरिने भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले एक लाख लिटरको फलामको पानी ट्याङ्की क्षतिग्रस्त भएपछि खानेपानी समस्या भएको हो । यहाँको खानेपानी समस्या समाधान गर्न चालु आर्थिक वर्षमै नगरपालिकाबाट बजेटको व्यवस्था गर्न लागिएको वडाध्यक्ष जयराम महतले जानकारी दिनुभयो । खानेपानी समस्या समाधान गर्न वडा कार्यालयअघि ६० हजार लिटरको भूमिगत पानी ट्याङ्की निर्माण गरिएको छ । यहाँबाट ‘गोकर्ण देश गाउँ’ माथि पर्ने भएकाले पानी जान समस्या हुने गरेको वडा कार्यालयले जनाएको छ । ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वको यो गाउँमा एक हजार चार सय जनसङ्ख्या छ । यहाँ पुरातात्विक महत्वका मठमन्दिरका साथै सम्पदा बस्तीसमेत भएकाले खानेपानी समस्या समाधान गरेर पर्यटकीयस्थलका रूपमा विकास गर्न लागिएको वडाध्यक्ष महतले जानकारी दिनुभयो ।