नेपाली कांग्रेसका नेता ्रकाशमान सिंहले जनताको चाहनाअनुसार काम गर्ने बताउनुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सिंहले आज निर्वाचित भएको प्रमाणपत्र बुझ्दै जनताको चाहनाअनुरुप काम गर्न आफू केन्द्रित हुने बताउनुभएको हो । “विकास, निर्माणको काममा राजनीतिकरण हुँदैन, जनताको चाहना अनुसार काम गर्छु”, उहाँले भन्नुभयो । उहाँले तीनवटै तहको सरकारलाई अधिकार सम्पन्न बनाएर जनताको सेवाको काममा सहजता ल्याउने गरी सङ्घीय कानुन निर्माणमा जोड दिने बताउनुभयो । नेता सिंहले जनताको चाहनाअनुसार आफूले आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार विकास, खानेपानीको व्यवस्थापन, बेरोजगारी समस्या समाधान, शिक्षा र स्वास्थ्यमा सुधारको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो । सोही अवसरमा उहाँले निर्वाचन स्वच्छ, स्वतन्त्र र पारदर्शी ढङ्गले सम्पन्न गराएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षाकर्मी र सम्बन्धित निकायलाई धन्यवाद दिनुभयो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नवनिर्वाचित सांसद सिंहलाई बधाई दिँदै सफल कार्यकालको सफलताको कामना गर्नुभएको थियो ।