उदयपुर–१ (२) मा नेपाली कांग्रेसका हिमाल कार्की निर्वाचित हुनुभएको छ । आज साँझ सम्पन्न मतगणनाअनुसार कार्कीले नेकपा(एमाले)का ईश्वरमणि राउतलाई दुई सय १५ मतान्तरले पराजित गर्नुभयो । कार्कीले १४ हजार नौ सय ७९ मत पाउँदा राउतले १४ हजार सात सय ६४ मत पाउनुभयो । दुई हजार नौ सय १० मत पाउँदै राप्रपाका ज्ञानबहादुर राईले तेस्रो स्थान हासिल गर्नुभयो । यस प्रदेशसभामा ३७ हजार छ सय ८५ मत खसेको थियो । कार्की यसै क्षेत्रबाट विसं २०७४ मा पनि निर्वाचित हुनुभएको थियो । यसपटक सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कार्की प्रदेश नं १ सरकारका सडक पूर्वाधार तथा शहरी विकासमन्त्री हुनुहुन्थ्यो । उहाँ काँग्रेसका उदयपुर जिल्ला सभापति हुनुहुन्छ ।