मधेस प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २२ स्थानको नतिजा सार्वजनिक भएको छ । अब प्रदेशका विभिन्न जिल्लाका १० प्रतिनिधिसभा निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ । निर्वाचन आयोगले आज साँझ ५ः३० बजेसम्म सार्वजनिक गरेको परिणामअनुसार सबैभन्दा बढी नेकपा (एमाले) ले छ स्थानमा जितेको छ । यसैगरी नेपाली कांग्रेसले पाँच, जनता समाजवादी पार्टी (जसपा) ले चार, लोसपाले दुई, एकीकृत समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्रले तीन स्थानमा जित निकालेको छ । एमालेका उम्मेदवार छ स्थानमा निर्वाचित भएका छन् । सिरहा–१ मा रामशङ्कर यादव, धनुषा–३ मा जुली महतो (महासेठ), सर्लाही–३ मा हरिप्रसाद उप्रेती, बारा–१ मा अच्युतप्रसाद मैनाली, पर्सा–३ मा राजकुमार गुप्ता र सिरहा–३ मा लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सप्तरी–३ मा दिनेशकुमार यादव, धनुषा–२ मा रामकृष्ण यादव, रौतहट–४ मा देवप्रसाद तिमलसेना, पर्सा–२ मा अजयकुमार चौरसिया र पर्सा–४ मा रमेश रिजाल निर्वाचित हुनुभएको छ । कांग्रेस उम्मेदवार सप्तरी–४, धनुषा–४ र महोत्तरी–४ मा अगाडि छन् । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सप्तरी–१ मा नवलकिशोर साह, सिरहा–४ मा डा वीरेन्द्रप्रसाद महतो, सिरहा–४ मा वीरेन्द्रप्रसाद महतो र पर्सा–१ मा प्रदीप यादव निर्वाचित हुनुभएको छ । सिरहा–२ र धनुषा–१ मा जसपा उम्मेदवार अगाडि छन् ।