कैलाली क्षेत्र नं १ को प्रदेशसभा (२) मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी विजयी हुनुभएको छ । उहाँ प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री डा रणबहादुर रावलभन्दा तीन हजार दुई सय ६४ मतान्तरले विजयी हुनुभएको हो । चौधरीले ११ हजार तीन सय १७ मत पाउनुभयो भने निकटतम् प्रतिद्वन्द्वी रावलले आठ हजार ५३ मत पाउनुभएको छ । यसअघि विसं २०७४ मा सम्पन्न भएको प्रेदशसभा निर्वाचनमा रावलले चौधरीलाई पराजित गर्नुभएको थियो । त्यसबेला चौधरी राष्ट्रिय जनता पार्टीबाट चुनाव लड्नुभएको थियो । निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले दिएको जानकारीअनुसार नेकपा (एमाले)का द्धारिकाप्रसाद न्यौपानेले पाँच हजार तीन सय २० मत प्राप्त गर्नुभएको छ भने राप्रपाका डम्बरबहादुर थापाले एक हजार तीन सय ३८, स्वतन्त्र उम्मेदवार केशरबहादुर साउदले आठ सय ८८, स्वतन्त्र उम्मेदवार गणेश चौधरीले पाँच सय आठ र नेपाल लोकतान्त्रिक पार्टीका रामकृष्ण चौधरीले चार सय ४१ मत प्राप्त गर्नुभएको छ । यसअघि प्रदेशसभा (१) मा समेत नागरिक उन्मुक्तिका कैलाश चौधरी भारी मतान्तरका साथ विजयी हुनुभएको छ । क्षेत्र नं १ को प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठको समेत जित सुनिश्चित भइसकेको छ ।