सुदूरपश्चिममा हालसम्म दश वटा निर्वाचन क्षेत्रको टुङ्गो लागेको छ । नौ वटा जिल्ला रहेको सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र रहेका छन् भने कञ्चनपुरमा तीन, अछाममा दुई र बाँकी जिल्लामा एक÷एक निर्वाचन क्षेत्र रहेको छ । यहाँ दश निर्वाचन क्षेत्रको निर्वाचन नतिजा भए पनि एक निर्वाचन क्षेत्रमा मतदान प्रक्रिया रोकिएको छ भने पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । प्रतिनिधिसभातर्फ डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवाले सातौँ पटक निर्वाचनमा विजयी हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल र नेपाली कांग्रेस बिपीका नेता कर्ण मल्ललाई पराजित गर्नुभयो । विसं २०४८ यता डडेल्धुराबाट निरन्तर निर्वाचनमा जित्दै आउनुभएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवालाई यस पटक सत्ता गठबन्धन दलको दरिलो साथसमेत थियो । त्यसैगरी नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं सत्ता गठबन्धनका उम्मेदवार वीरबहादुर बलायर कैलाली निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित हुनुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका बलायरले यसअघि २०७० सालको निर्वाचनमा डोटीबाट निर्वाचन जित्नुभएको थियो । विसं २०७४ मा तत्कालीन नेकपा एमालेका (हाल एकीकृत समाजवादी पार्टी) नेता प्रेम आलेसित पराजित हुनुभएका नेता बलायरले यस पटक भने सत्ता गठबन्धनका कारण कैलाली सर्नुपरेको थियो । निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री लेखराज भट्टलाई पराजित गर्दै बलायर निर्वाचित हुनुभएको हो ।