अन्ततः तेस्रोपटकको प्रयासमा जीत शेरचन संसदीय राजनीतिमा प्रवेश गर्न सफल हुनुभएको छ । दुई–दुई पटकको हारलाई विजयमा उहाँ बदल्दै नेपाली कांग्रेसका शेरचन बागलुङ–२ (१) बाट तेस्रोपटक निर्वाचित हुनुभएको हो । विसं २०७४ र विसं २०७६ को उपचुनावमा शेरचन बागलुङ–२ (२) बाट पराजित हुनुभएकामा यसपटक भने गठबन्धनको बलमा विजयी हुनुभएको हो । अघिल्लो चुनावमा तत्कालीन वाम गठबन्धनको एक्लै सामना गर्नुपर्दा उहाँले हार व्यहोर्र्नुपरेको थियो । अहिलेको चुनावमा स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई तीन हजार एक सय मतले पछि पार्दै शेरचन विजयी हुनुभयो । उहाँले १५ हजार एक सय आठ मत ल्याउँदा घर्ती १२ हजार आठ मतसहित दोस्रो स्थानमा सीमित रहनुभयो । घर्तीलाई एमालेले सघाएको थियो भने शेरचनसँग नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टी साथमा थिए । पहिले जसले हराए उनै दलसँग मिलेर शेरचन चुनावमा होमिनुभएको थियो ।