नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ (१) मा नेपाली कांग्रेस तथा (२) मा एमाले विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलका अनुसार प्रदेशसभा (१) मा कांग्रेसका उम्मेदवार महेन्द्रध्वज जिसी निर्वाचित हुनुभएको छ । पन्ध्र हजार एक सय ३७ मतसहित जिसी निर्वाचित हुनुभएको लुइँटेलले जानकारी दिनुभयो । जिसीका निकटतम प्रतिस्पर्धी एमालेका रवीन्द्र अधिकारीले १३ हजार नौ सय ८७ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्तोष थापाले छ हजार एक सय ४० मत प्राप्त गर्नुभयो । प्रदेशसभा (२) मा एमालेका उम्मेदवार रोशनबहानुर गाहा निर्वाचित हुनुभयो । गाहा १७ हजार आठ सय २३ मतसहित प्रदेशसभा सदस्यका लागि निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लोकप्रसाद भुर्तेलले १४ हजार एक सय १० मत प्राप्त गनुभएको लुइँटेलको भनाइ छ । —