गुल्मीको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य सहित दुवै प्रदेशसभा सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेकपा (एमाले)का गोकर्णराज बिष्टसँगै दुवै प्रदेशसभामा एमालेका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिनुभयो । यस क्षेत्रबाट एमालेका विष्ट दुई हजार ३५ मतको अग्रतासहित २८ हजार चार सय ७६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँसँग सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै प्रदेश सभा (१) मा एमालेका उम्मेदवार डिल्लीराज भुसाल एक हजार ४९ को अग्रतासहित १४ हजार दुई सय ८५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँसँग सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १३ हजार दुई सय २६ मत प्राप्त गरेको निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । साथै प्रदेशसभा सदस्य (२) मा पनि एमालेकै उम्मेदवार दिनेश पन्थी एक सय १० मतको अग्रतासहित १३ हजार नौ सय २९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँसँग सत्तारुढ गठबन्धनकोे तर्फबाट नेकपा (माओवादी केन्द्र)का बुद्धि जिसीले १३ हजार आठ सय १९ मत प्राप्त गरेको निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । यस क्षेत्रमा कूल एक लाख चार हजार तीन सय २७ मतदाता थिए । जसमध्ये खसेको मत ५८ हजार सात सय ५९ हो । सो मध्ये मध्ये ५६ हजार पाँच सय ९३ मत सदर भएको थियो । यस क्षेत्रमा मुसिकोट र रेसुङ्गा नगरपालिका सहित मालिका, मदान, धुर्कोट , इस्मा गाउँपालिकाका वडा पर्दछन् ।