खोटाङ प्रदेशसभा (१)मा नेकपा (एमाले)का उम्मेदवार पाँचकर्ण राई ‘पिके’ विजयी हुनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका वीरबलकाजी राईलाई एक हजार एक सय ९२ मतान्तरले पराजित गर्दै पिके प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँले १३ हजार एक सय ५७ मत प्राप्त गर्दा वीरबलकाजीले ११ हजार नौ सय ६५ मत प्राप्त गर्नुभएको छ । विसं २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित पिके विसंं २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा विजयी हुनुभएको थियो । पार्टीको १ नं प्रदेश समिति सदस्य रहनुभएका पिके जिल्लामा प्रभावशाली नेताका रुपमा चिनिनुहुन्छ । संविधानसभा सदस्यको भूमिकामा रहेको समयमा जयरामघाटको मोटरेबल पक्की पुल छिटो सम्पन्न गराउन पिकेको महत्वपूर्ण हात रहेको थियो । जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले दुई हजार तीन सय ४०, नेकपा (माले)का पदमप्रसाद आचार्यले एक हजार पाँच सय २५, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका प्रयाग राईले एक सय ६४ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाल मजदुर किसान पार्टीका केशव राईले ८२, स्वतन्त्र उम्मेदवार कुमारप्रसाद भट्टराईले १२ तथा अर्का स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेलले तीन हजार एक सय ४५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चौहत्तर हजार छ सय ३९ मतदाता रहेको प्रदेशसभा (१)मा ३३ हजार नौ सय ४४ मत खसेको थियो । प्रदेशसभा सदस्यका लागि खसेको मतमध्ये एक हजार पाँच सय ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शुभाषबाबु पुरीले जानकारी दिनुभयो ।