बाँके निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएका किशोरसिंह राठौर कर्णाली प्रदेशको सल्यान जिल्लामा जन्मिनुभएको हो । शैक्षिक जीवन काठमाडौँमा बिताउनुभएका उहाँले राजनीतिक यात्रा विद्यार्थीजीवनबाटै सुरु गरेर नेविसङ्घ तथा पार्टीमा विभिन्न पद सम्हाल्दै नेपाली कांग्रेसको सह–महामन्त्रीको पदमा पुग्न सफल हुनुभयो । यसअघि समानुपातिकतर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिसक्नुभएका विजयी नेता राठौरले यहाँसम्म आइपुग्न निकै सङ्घर्ष गर्नुप¥यो । उहाँले भन्नुभयो, “साढे तीन दशकसम्म निरन्तर लागेर बल्ल अहिलेको ठाउँमा आइपुग्न सकेको छु ।” विसं २०२६ वैशाख १५ गते सल्यान, बडागाउँमा जन्मिनुभएका राठौरले गाउँमा प्रारम्भिक शिक्षा लिएर माध्यमिक तहसम्मको शिक्षा भने काठमाडौँस्थित सिद्धार्थ वनस्थलीमा पूरा गर्नुभयो । सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि काठमाडौँस्थित त्रिचन्द्र कलेजमा भर्ना भएपछि विद्यार्थी राजनीतिको नसाले उहाँलाई छोयो । कलेजमा पढ्दादेखि नै नेविसङ्घमा लाग्नुभएको राठौर स्वतन्त्र विद्यार्थी युनियनको सचिव र सभापतिसमेतको जिम्मेवारी सम्भाल्दै स्वतन्त्र विद्यार्थी युनियनको छाता सङ्गठन स्ववियु फोरमको संस्थापक सभापतिसमेत हुनुभयो । विसं २०५३ मा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सहमहामन्त्री र २०५८ मा नेविसङ्घको केन्द्रीय अध्यक्षमा समेत रहेर उहाले काम गर्नुभयो ।