कर्णाली : प्रतिनिधिसभातर्फ छ र प्रदेशसभातर्फ १३ स्थानको नतिजा सार्वजनिक
कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म प्रतिनिधिसभातर्फ छ ठाउँको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रदेशसभातर्फ १३ स्थानको अन्तिम नतिजा आएको छ । अहिलेसम्म प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं २, दैलेखका दुईवटै क्षेत्र, जाजरकोट, सल्यान र जुम्लाको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार सत्ता गठबन्धनले प्रतिनिधिसभातर्फ पाँच क्षेत्रमा जितेको छ भने एउटा क्षेत्रमा राप्रपाले जित हासिल गरेको छ । सोअन्तर्गत प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं २ बाट नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुँदा नेकपा (एमाले)का अमृतकुमार विसी पराजित हुनुभएको छ । थानीको पक्षमा ३४ हजार छ सय २५ मत ल्याउँदा एमालेका अमृतकुमार विसीले २९ हजार पाँच सय ५८ मत प्राप्त गर्नुभयो । त्यसैगरी दैलेख क्षेत्र नं १ मा सत्ता गठबन्धका उम्मेद्वार नेकपा (एकीकृत समाजावादी)का अम्मरबहादुर थापाले एमालेका रवीन्द्रराज शर्मालाई पराजित गर्नुभएको छ । थापाले १८ हजार दुई सय ५६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका शर्माले १७ हजार चार सय सात मत प्राप्त गर्नुभयो । राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाहीले चार हजार छ सय दुई मत प्राप्त गर्नुभयो । दैलेख क्षेत्र नं २ मा पनि नेपाली कांग्रेसका दिक्पाल शाही विजयी हुनुभएको छ । उहाँले एमालेका लक्ष्मी पोख्रेललाई एक सय ५३ मतान्तरले हराउनुभयो ।