काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।

बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने बस्नेतले बताए । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा पहिलो पटक वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरेका थिए । त्यसपछि निषेधाज्ञा एक हप्ता थप गरेर वैशाख २९ गतेसम्म पुर्‍याइएको थियो ।