२६ साउन, काठमाडौं । नेपाली कांग्रेसले सहमतिकै आधारमा भदौ २० भित्र अन्तरिम संरचना बनाइसक्ने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अन्तरिम संरचना निर्माणबारे निर्देशिका पारित गरेको छ । यसअनुसार अन्तरिम संरचना निर्माणका क्रममा कतै पनि चुनाव हुने छैन, बरु गोला प्रथाबाट नेतृत्व चयन हुनेछ । पार्टीलाई संघीय ढाँचामा लैजानका लागि  कांग्रेसले संघीय निर्वाचन क्षेत्रको क्षेत्रीय समिति, प्रदेश निर्वाचन क्षेत्रीय समिति, स्थानीय तह र वडा तहमा अन्तरिम संरचना बनाउनुपर्छ । क्षेत्रीय सभापति चयन गर्दा यदि १३ औं महाधिवेशनबाट चुनिएका एक जना मात्र क्षेत्रीय सभापति छन् भने उनी स्वतः सभापति हुनेछन् । यदि दुई वा सो भन्दा बढी क्षेत्रीय सभापति छन् भने कार्यकालको वरिष्ठताका आधारमा चयन हुनेछ ।