आज पुस १५ गते । कर्णाली र सुदूरपश्चिम प्रदेशमा ‘पुसे १५’ पर्व मनाइँदैछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा परापूर्वकालदेखि नै ‘पुसे १५’ पर्व मनाइने चलन छ । आजको रात सबैभन्दा लामो हुने जनविश्वास भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठामिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने र कथा हालेर रात काट्ने चलन रहेको छ । कर्णाली प्रदेशको कालीकोट, जुम्ला, मुगु, सुदूरपश्चिमको बाजुरा, अछाम, डोटी र बाजुरा जिल्लामा आजको रातमा भैली खेल्ने, आगो बाल्ने, कथा हाल्ने र विभिन्न परिकारका रोटी पकाएर खाएर ‘पुसे १५’ पर्व मनाउने चलन रहेको कालीकोट खाडाँचक्र नगरपालिका–२ पञ्चदेवल माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले बताउनुभयो । “रातभर विभिन्न कार्यक्रम गरेर बिहान उज्यालो नहुँदै नुहाइधुवाइ गर्ने चलन रहेको छ”, उहाँले भन्नुभयो, “रातभरि कथा, कहानी सुनाउने, चामलको मोटो रोटी हाल्ने, कतैकतै भैली खेल्ने चलन रहेको छ ।” आजको रातमा भैली खेलेर खाद्यान्न जम्मा गर्ने र त्यही खाद्यान्नबाट भोलिपल्ट वनभोज (पाटेभात) खाने विगतमा चलन रहेको कालीकोट नरहरिनाथ गाउँपालिकाका ९० वर्षीय भैरबहादुर शाहीले जानकारी दिनुभयो । “आज १५ किसिमका परिकार खाने चलन रहेको छ”, उहाँले भन्नुभयो, “चामल र मास मिसाएर रोटी बनाएर खाने चलन रहेको छ । त्योसँगै आजको राति भैली खेलेर भोलिपल्ट वनभोज खाने चलन रहेको छ ।”