नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले कुलुङ समुदायलाई फरक जातका रुपमा सूचीकृत गरिनुपर्ने माग गर्नुभएको छ । आज यहाँ आयोजित मिनारी दाचाम् चासुम्लो निङदोङ चाक्चाकुर चाडका अवसरमा शुभकामना दिँदै कुलुङ समुदायको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो । चाक्चाकुर पर्व पुस १५ देखि तीन दिनसम्म मनाइन्छ । उहाँले भन्नुभयो, “मुलुकको सभ्यता र संस्कार सिकाउने जाति हो कुलुङ । यो समुदायको संरक्षण गर्नु राज्यको दायित्व हो । उहाँहरुलाई फरक जातका रुपमा सूचीकृत गरिनुपर्छ ।” उहाँले धार्मिक र सांस्कृतिक विविधताका लागि सबै जात र समुदायको संरक्षण गर्न आफू लागेको समेत दाबी गर्नुभयो । चाक्चाकुर चाडका अवसरमा आज काठमाडौँ उपत्यकाभित्र बसोबास गर्ने कुलुङ समुदाय भेला भई शुभकामना आदानप्रदान गरेका छन् । “मिनारी अर्थ पाखुरी र दाचामको अर्थ अन्न भण्डारणको प्रयोग गर्ने पहिलो दिन हो । यस दिन अन्नको विभिन्न परिकार बनाएर खाने र पितृलाई सम्झने गरिन्छ”, किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घ काठमाडौँ उपत्यका कार्यसमितिका अध्यक्ष घनश्याम कुलुङले बताउनुभयो । चाक्चाकुर चाड खाद्यान्न भण्डारण गरिएको अन्न उपभोगले स्वास्थ्यमा प्रतिकूल असर नगरोस् र सबैको सुख शान्तिका लागि कुलुङ समुदायले चाक्चाकुर चाड मनाउने गर्छन् । आज किराँत यलेदोङ पात्रका अनुसार ५०८२ को अन्त्य र येलेदोङ ५०८३ सुरु भएको छ । .नयाँ वर्षको अवसरमा किरात कुलुङ विद्यार्थी सङ्घले पाचाँै महाधिवेशन-२०७९ पनि सम्पन्न गरेको छ ।