सङ्घीय राजधानी काठमाडौँलाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ । गत सोमबार काठमाडौँ आइपुगेको चिनियाँ टोलीले काम सुरु गरेको रेल विभागले जनाएको छ । चीन सरकारको सहयोगमा गर्न लागिएको अध्ययनका लागि यसअघि नै सम्झौता भइसकेको छ । अध्ययन सुरु गर्न आएको टोलीले विभागमा भेट गरेर छलफल गरेको विभागका महानिर्देशक रोहितकुमार बिसुरालले बताउनुभयो । उहाँले भन्नुभयो, “काम गर्न उनीहरु आइपुगेकाले सुरु भएको भन्ने बुझिन्छ ।” अध्ययनका लागि अवधि साढे तीन वर्ष लाग्ने विभागले जनाएको छ । अहिले केरुङबाट काठमाडौँसम्मको रेलमार्ग अध्ययन गर्न लागिएको हो । विगतमा चीन सरकारले काठमाडौँ हुँदै पोखरा वा लुम्बिनीसम्म अध्ययन गर्ने भने पनि तत्कालका लागि त्यो योजना नरहेको महानिर्देशक बिसुरालले जानकारी दिनुभयो । यसअघि भएको प्रारम्भिक अध्ययनअनुसार सो रेलमार्गमा नेपालभित्रै ७२ किमी लामो देखिएको उहाँले बताउनुभयो । केरुङबाट रसुवागढी हुँदै रेलमार्ग काठमाडौँतर्फ आउने विभागले जनाएको छ । तिब्बतभित्र केरुङबाट माथि एउटा ताल रहेको र त्यहाँबाट छुटिएर यता आउने छ । महानिर्देशक बिसुरालले भन्नुभयो, “तालबाट मानसरोवर जाने मार्गबाट छुटिएर यतातर्फ आउने गरी रेलमार्गको अध्ययन हुनेछ ।” पाँच वर्ष पहिले भएको सहमतिका आधारमा चीन सरकारले एलवोयू (लेटर अफ अन्डरटेकिङ) पठाएको थियो । सरकारले गत ७ गते अनुमोदन गरेको उहाँले बताउनुभयो । सरकारले आफ्नो तर्फबाट अघि बढाउनासाथ चिनियाँ टोली तुरुन्त आइपुगेका थिए । महानिर्देशक बिसुरालले भन्नुभयो, “उनीहरु आउन तयार थिए र यताबाट गर्नुपर्ने काम गरिएपछि तुरुन्त आइपुगेका हुन् ।”