भारतमा सिपाहीको जागिर गर्दै गर्दा ‘खान नपाएर आएका नेपाली’ भन्ने शब्द सुनेका कारण भारतीय पल्टनको जागिर छाडेर स्वदेश फर्किएका सिम्लेका ७७ वर्षीय हुमनाथ पौडेल अहिले जिल्लाका सफल सुन्तला किसान बन्नुभएको छ । विसं २०२७ मा भारतीय सेनामा रहँदा भारतीयले नेपालीहरुप्रति प्रयोग गरेको यही शब्द सहन नसकी सेनाको जागिर चटक्कै छाडेर घर फर्किनुभयो । त्यसलगत्तै पौडेलले नेपाली माटोमा केही गरेर देखाउन सक्छु भन्ने दृढ सङ्कल्पका साथ सुन्तलाखेती सुरु गर्नुभएको हो । उहाँ आफूले मात्र सुन्तला लगाउनुभएन, सारा गाउँकालाई नै सुन्तलाखेतीप्रति प्रेरित गर्ने अभियानका साथ डोकोमा सुन्तलाका बिरुवा बोकर घरघर पु¥याउनुभयो । “पैसा हुनेलाई बिरुवा पैसामा बेचे, नहुनेसँग श्रम साटे, कसैबाट अन्न, डोको, नाम्ला र दाउरा लिएर पनि सुन्तलाका बिरुवा घरघर लगाउन अनुरोध गरे”, उहाँले भन्नुभयो । उहाँले धेरैलाई निःशुल्क बिरुवा दिएर पनि सुन्तलाका बोट लगाउन प्रेरित गर्नुभयोे । उहाँले आफ्नो घरमा मात्रै सुन्तला खेतीबाट वार्षिक रु २० लाखभन्दा बढी आम्दानी हुने गरेको र आफ्नो परिवारलाई खान लाउन पुगेको बताउनुभयो । अहिले सुन्तला राम्रो फलेकाले रु २५ लाखभन्दा बढी आम्दानी हुने उहाँको भनाइ छ । उहाँको सुन्तला बगैँचामा अहिले झण्डै साढे आठ सय बिरुवा रहेका छन् । उहाँको बारी, खेत, खर्क सबैमा सुन्तलाको बगैँचा छ ।