निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण हुन थालेको छ । करिब पाँच वर्षअघि निर्वाचित नेपालगञ्जका नगरप्रमुख डा धवलशम्सेर राणाको पहलमा पुनः सञ्चालनमा ल्याइएको ताललाई हाल आएर संरक्षणको अभावमा पुनः पहिलाको जस्तै भएको छ । धेरै वर्षपछि रु ३५ लाख खर्च गरेर दोस्रोपटक सञ्चालनमा ल्याइएको रानीतलाउको सौन्दर्यको धेरै चर्चा भयो । नेपालगञ्जको पर्यटकीयस्थलका रूपमा परिचित रानीतलाउ अब झकिझकाउ भयो भन्ने धेरैलाई लाग्यो । दुर्भाग्य डेढ वर्षपछि रानीतलाउ फेरि उस्तै बाटोमा फर्किसकेको छ । बोटिङ बन्द भएको छ । सरसरफाइमा कमी छ । पर्यटकको घुइँचो हुने रानीतलाउ सुनसान भएको स्थानीय कृष्णमुरारीप्रसाद भट्टले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “नेपालगञ्जको ऐतिहासिक पर्यटकीय क्षेत्र मानिएको रानीतलाउ फेरि उस्तै गतिमा जाने थालेको छ, बहुत् दुःख लागेको छ, नेपालगञ्ज सहरको आकर्षण र पुरानो गहनाको रूपमा रहेको यो तालको दुर्दशा हेर्दा लज्जित महसुस गरेको छु ।” सौन्दर्यकरण गर्नका लागि रानीतलाउमा धेरै पैसा लगानी गरियो । पैसा खन्याएर मात्रै हुँदोरहेनछ भन्ने देखिँदै आएको छ । रानीतलाउलाई झकिझकाउ बनाएर वार्षिक रु १८ लाखमा ठेक्का दिइएको थियो । ठेकेदारले छोड्दा चारवटा डुङ्गा कामै नलाग्ने अवस्थामा रहेका छन् । नेपालगञ्जको इतिहास बोकेको दुई सय वर्ष पुरानो रानीतलाउमा संक्षणको अभावमा अहिले पर्यटकको सङ्ख्या घटेको छ । रानीतलाउको जीर्णोद्धारपछि सुरुआतको वर्षमा अन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ रहने तलाउ अहिले पुनः जीर्ण बन्दै गएपछि तलाउमा पर्यटकको सङ्ख्या घटेको छ ।
