तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयघात हुने गरेको पाइएको छ । मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी हृदयघात हुने १२ प्रतिशत ४५ वर्षमुनिका युवा रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “युवाहरुमा बढ्दै गएको चुरोट तथा सुर्ती सेवनको कारणले हृदयघातको समस्या बढ्दै गएको छ । खासगरी ४५ वर्ष मुनिका २० प्रतिशत युवामा हृदयघात चुरोट र सुर्ती सेवन मुख्य कारक देखिएको छ ।’’ उहाँका अनुसार अहिले अस्पतालमा हृदयघात भएर आउने धेरै युवा चुरोट र सुर्ती सेवनका कारण भएको पाइन्छ । चुरोट र सुर्तीबाहेक युवामा बढ्दै गएको अस्वस्थ्य खानपान, मोटोपना, तनाबजस्ता कारणले पनि युवा उमेरमा नै हृदयघात हुने गरको उहाँको तर्क छ । चुरोट र सुर्तीका अलवा हृदयघात वंशाणुगतका कारण पनि हुने गरेको चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार ४५ वर्ष कटेपछि जो कोहीले पनि वर्षमा एकपटक तथा धूममान गर्ने, कोलेस्ट्रोल बढी र मोटोपना भएका मानिसले भने एकपटक मुटुको जाँच गराउन आवश्यक हुन्छ । खासगरी पुरुष ५५ र महिला ६५ वर्ष नाघेपछि, उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल मोटोपना, हर्मोन, चिल्लो खानापन, तनाब कारणले हृदयघात हुने गरेको पाइन्छ ।