हिमाली जिल्ला मनाङमा चिसो बढी भएको अवस्थामा पनि पर्यटक आइरहेका छन् । प्रतिदिन करिब १० देखि १५ जनाको दरले पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । “चिसो अत्यधिक बढेको छ । पर्यटक प्रतिदिन औसतमा १० जना आउने क्रम जारी छ । सुरक्षित भएर यात्रा गर्न सुझाएर गन्तव्यतर्फ पठाउने गरेका छौँ,” गौतमले भन्नुभयो, “हिमपात नभए पनि चिसो अत्यधिक छ । खानेपानी जमेको अवस्था छ । तर पर्यटक आउन रोकिएको छैन ।” पर्यटक आउँदा मनाङमा बसोबासका लागि समस्या हुनसक्ने भएकाले सचेत भएर आउनुपर्ने उहाँले बताउनुभयो । हिमपात नहुँदासम्म पर्यटकको आगमन जारी रहने उहाँको भनाइ छ । हिमापत भएपछि भने मनाङ गाउँबाटमाथि जान सक्ने अवस्था नहुने उहाँले बताउनुभयो । “प्रायजसो समूहमा आएका विदेशी पर्यटकलाई तिलिचो ताल, थोराङ्ला पास जान अनुमति दिएका छाँैं । हिउँ नपर्दा सुख्खापन बढेको छ । यसले कृषिबालीमा समेत समस्या हुने देखिएको छ”, गौतमले भन्नुभयो, “पुसमा हिमपात हुने अवस्था देखिएको छैन । माघमा मात्रै हिमपात पर्न सक्ने मौसम विभागको अनुमान छ ।”
