जिल्लामा सञ्चालित नदीजन्य तथा खानीजन्य उद्योग मापदण्डविपरीत सञ्चालन हुँदै आएको पाइएको छ । जिल्ला समन्वय समितिको नदीजन्य पदार्थको उत्खनन, सङ्कलन र बिक्रीसम्बन्धी प्रक्रियाको अनुगमन समितिअन्तर्गत गठित कार्यदलको प्रतिवेदनले काभ्रेपलाञ्चोकमा सञ्चालित नदीजन्य तथा खानीजन्य उद्योग मापदण्डविपरीत सञ्चालन हुँदै आएको देखाएको हो । जिल्ला समन्वय अधिकारी शान्तिराज प्रसाईंको संयोजकत्वमा गठित नौ सदस्यीय कार्यदलले प्रतिवेदन सार्वजनिक गर्दै जिसस प्रमुख एवं अनुमगन समितिका संयोजक दीपककुमार गौतमलाई बुधबार बुझाएको हो । नदीजन्य तथा खानीजन्य उद्योगसम्बन्धी ५९ पृष्ठको प्रतिवेदनमा अधिकांशको खानी तथा क्रसर उद्योग प्रमाणपत्र कागजात नभएको तथा केहीले उद्योगमा नराखेको, दर्ता प्रक्रिया पूरा नगरी सञ्चालन गरेको पाइएको हो । क्रसरबाट उत्पादित ‘वेष्ट मेटेरियल’ व्यवस्थापन नगरी खोला वा अन्य क्षेत्रमा बेवारिसे राख्ने गरेको, उद्योगमा घेराबार नगरी असुरक्षित रुपमा सञ्चालन गरेको, खानी तथा क्रसर उद्योग छेउछाउमा बस्ती रहेकाले प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा उच्च जोखिममा पारेको तथा उद्योगबाट धुँवाधुलोका कारण बस्तीमा प्रदूषण फैलिई जनस्वास्थ्यमा असर परेको, केहीले साँझ, बिहान र रातिसमेत नदीबाट अनधिकृत रुपमा उत्खनन गरेको उल्लेख छ । एउटा उद्देश्यले दर्ता गरी मापदण्डविपरीत खानी सञ्चालन गरेको खोला तथा राजमार्गको दूरी मापदण्डविपरीत रहेको, स्वीकृत क्षमताभन्दा बढी उत्खनन गरेको पनि प्रतिवेदनले औँलाएको छ ।