गाउँपालिकाले वार्षिक कार्यक्रम बनाएपछि मनबहादुर रानालाई लागेको थियो आफ्नै गाउँको खेलमैदान बनाउने जिम्मेवारी पक्कै पाइन्छ । उपभोक्ता समिति गठन गर्दा मानबहादुर अध्यक्षका दाबेदार हुनुहुन्थ्यो । गाउँकै खेलमैदान भएकाले आफैले नेतृत्व गरेर योजना सम्पन्न गर्ने उहाँको चाहना पनि थियो । बडिगाड गाउँपालिका–२ का मानबहादुरलाई लागेको थिएन उपभोक्ता समितिले यति सजिलै कामको सुरुवात गर्छ भनेर । पालिका धाउनुपर्ने, पटक–पटकको झण्झट खेप्नुपर्ने, योजना सम्झौताकै लागि हजारौँ रुपैयाँ खचिनुपर्ने पूर्व तयारी गरेर बसेका मनबहादुर आफ्नै दैलोमा योजना सम्झौता भएपछि दङ्ग हुुनुहुन्छ । उहाँ उपभोक्ता समितिको अध्यक्ष रहेको दनियाँ खेलमैदान निर्माणको योजना सम्झौता आफ्नै टोलमा भएपछि उहाँको समय र पैसा दुवै बचेको छ । त्यतिमात्रै होइन योजना सम्झौताका लागि पालिका धाउनुपर्ने समय उहाँले अब त्यही काममा लगाउनु हुने छ । मनबहादुर मात्रै होइन बडिगाडका अधिकांश योजनाका उपभोक्ता समितिले राहत पाएका छन् । बडिगाडले वडा नं २ मा चालु आर्थिक वर्षमा ४८ योजना सञ्चालन गर्दै छ । यस पटक वडाले योजना सम्झौता र बैंक खाताका लागि वडामै चाँजोे मिलाएको थियो । रानाले भन्नुभयोे, “यति कामका लागि पालिका जानुपरेको भए मसहित सचिव र कोषाध्यक्षको गाडी भाडा, खाजा खटनपटनले धेरै नै दुःख हुन्थ्यो, तर वडामा काम बन्यो खुसी लागेको छ, समयसँगै खर्च बच्यो र काम पनि बन्यो, अब योजनाको काम सुरु गर्ने बाटो पनि खुल्यो ।’’