कैलालीको टीकापुर नगरपालिकाले सहकारीमाथि कडाइ गर्ने भएको छ । सहकारीको सञ्चालक समितिमा कर्मचारी, शिक्षक, जनप्रतिनिधि वा अर्को ठाउँमा लाभ लिने पदमा बसेको व्यक्ति बस्न नहुने व्यवस्था कार्यान्वयन गर्न नगरपालिकाले कडाइ थालेको हो । सङ्घीय सहकारी ऐन र नियमावली तथा सहकारी विभागले जारी गरेका निर्देशनमा कर्मचारी, शिक्षक, जनप्रतिनिधि वा अर्को ठाउँमा लाभ लिने पदमा बसेको व्यक्ति सञ्चालक र लेखा समितिमा बस्न नपाउने व्यवस्था छ । टीकापुरमा रहेका सहकारीमा यो कानुनी व्यवस्था उल्लङ्घन भएकाले नगरपालिकाले यसमा कडाइ गर्न थालेको नगरपालिकाको आर्थिक विकास शाखाले जनाएको छ । यसका लागि नगरपालिकाले ऐनमा भएको व्यवस्थाबारे सरोकारवालासँग छलफल गर्ने तयारी गरेको छ । नगरपालिकाले छलफलपछि सहकारी ऐनको व्यवस्थाविपरीत भइरहेका काम रोक्ने र सहकारीको आन्तरिक व्यवस्थापनमा सुधार ल्याउन कडाइ गर्ने तयारी गरेको छ । यसका साथै एउटा सहकारीमा सेयर सदस्य रहेको व्यक्ति अर्को सहकारीमा बन्न नपाउने भएकाले कुनै एउटालाई रोज्न नगरपालिकाले सूचनासमेत गरेको छ । आर्थिक विकास शाखा प्रमुख नन्दबहादुर केसीका अनुसार टीकापुरमा ७५ सहकारी नगरपालिकाअन्तर्गत सञ्चालनमा छन् । पचहत्तरमध्ये ३२ कृषि सहकारी छन् । बचत सहकारी १८, विद्युत् सहकारी नौ, बहुउद्देश्यीय पाँच, दुग्ध सहकारी तीन र अन्य नौ सहकारी सञ्चालनमा छन् । सङ्घ र प्रदेशअन्तर्गतका थप छ सहकारी सञ्चालनमा छन् ।