दैनिक बिरामीको उपचारमा खटिने डा तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ । आजभन्दा दुई महिना अघि शल्य चिकित्सकका रूपमा रहनुभएका डा कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको हो । आफ्ना निकटतम् प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तर पारेर उहाँ जनताबाट अनुमोदन हुनुभएको छ । पेशाले चिकित्सक उहाँको ध्यान सरकारमा रहेर स्वास्थ्य सेवा सुधार्नेतर्फ रहेको छ । त्यसैका लागि उहाँको पार्टी सरकारमा सहभागी भएको उहाँको धारणा छ । सरकारले पूर्णता पाउने तयारीमा रहेका बेला डा कार्की आफ्नो विज्ञताअनुसार पार्टीले आफूलाई सरकारमा सहभागी गराए स्वास्थ्यमन्त्रीका रूपमा काम गर्ने अपेक्षा राख्नुभएको छ । उहाँले आफू सरकारमा गए नेपाली जनतालाई सर्वसुलभरूपमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने पहिलो काम नै रहेको बताउनुहुन्छ । कति मानिसले गरिबीका कारण स्वास्थ्य सेवा पाउन नसकेको उहाँ आफैँले देख्नुभएको छ । ती गरिब र निमुखा पैसाको अभावले उपचार सेवाबाट बञ्चित हुन नपरोस् र सबै नेपालीले संविधानको व्यवस्थाअनुसार आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन उहाँ आफू लागिपर्ने बताउनुहुन्छ । यस्तै उहाँको ध्यान अहिले कोरोना भाइरस नियन्त्रणमा समेत रहेको छ । छिमेकी मुलुक भारत र चीनमा विएफ–७ नामक नयाँ भेरियन्ट फैलिरहेको अवस्थामा नेपालमा पनि नआउला भन्न सकिन्न । त्यसैले उक्त नयाँ भाइरसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर पनि आफ्नो कार्ययोजना बनाइरहनुभएको छ