विराटनगर महानगरपालिकामा दर्ता भएको प्रमाणपत्र लिएर मात्रै व्यवसाय र फर्मलाई ऋण प्रवाह गर्न यहाँका वाणिज्य बैंकहरु तयार भएका छन् । आन्तरिक आम्दानीलाई बलियो बनाउने अभियान अन्तर्गत महानगरले वाणिज्य बैंकका प्रादेशिक कार्यालयका प्रमुखलाई बोलाएर आज छलफल गरेको छ । छलफलमा महानगरको आग्रहलाई स्वीकार्दै बैंकका प्रादेशिक प्रमुखले अबदेखि ऋण प्रवाह गर्दा महानगरमा व्यवसाय दर्ता र नवीकरण भए÷नभएको हेर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँहरुले विराटनगरको विकास र समृद्धिमा सहयोग गर्न आफूहरु तत्पर रहेको बताउनुभयो । छलफलमा महानगरभित्र सञ्चालित २१ वटा वाणिज्य बैंकका प्रमुखको सहभागिता थियो । महानगरको करवृद्धि, पार्किङ व्यवस्थापन, सामाजिक उत्तरदायित्व बहन गर्ने उहाँहरुले सामूहिक प्रतिबद्धता जनाउनुभएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकहरुले गर्ने खर्च महानगरपालिकासित समन्वय र सहकार्य गरेर सञ्चालन गर्नसमेत वाणिज्य बैंकका प्रमुखहरु सहमत भएका छन् । छलफलमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरको आन्तरिक आय बढाउन कर सङ्कलन अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले विराटनगर सबैको भएकाले महानगरको अभियानमा साथ दिन आग्रह गर्दै भन्नुभयो,“बैंकहरुले हाल वाणिज्य कार्यालयमा दर्ता भएको प्रमाणपत्रका आधारमा ऋण दिँदै आएका छन् । अबदेखि ऋण दिँदा महानगरमा दर्ता भएको प्रमाणपत्र पनि खोजिदिनु होला ।”