आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा परेका छन् । नेपाललाई आवश्यक पर्ने ७० प्रतिशत औषधि यही उत्पादन गर्न सकिने भए पनि आयात नरोकिँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नेपालमा एक सय २५ औषधि उद्योग दर्ता भएका छन् । जसमध्ये ८३ उद्योगका औषधि बजारमा आइसकेका छन् । नेपाल औषधि उत्पादक सङ्घका महासचिव विप्लव अधिकारीका अनुसार नेपालमा एउटा औषधि पाँच उद्योगले उत्पादन गरेकालाई आयात रोक्दा मात्रै पनि दुई सयभन्दा बढी प्रकारका औषधि रोकिन्छन् । उहाँको भनाईमा २० वर्षअघि बङ्गलादेशले दुई कम्पनीले उत्पादन गरेका औषधि विदेशबाट आयातमा रोक लगाएको थियो । जसको नतिजास्वरुप अहिले बङ्गलादेश आत्मनिर्भर मात्रै होइन, निर्यातमा पनि अग्रणी बनेको छ । भारत लगायतका देशले पनि आफू आत्मनिर्भर भएका औषधि आयातमा रोक लगाउने गरेको अधिकारीले बताउनुभयो । विश्व बजारमा पहिलो चीन र दोस्रो भारत सबैभन्दा बढी औषधि उत्पादन गर्ने मुलुक भएको व्यवसायी बताउँछन् । यसअघि तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले ३० प्रकारका औषधि आयातमा प्रतिबन्ध लगाउने निर्णय गरे पनि कार्यान्वयन नभएको अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो “सरकारले उद्योग बच्ने गरी निर्णय गर्नुपर्छ ।”
