नगर बाल क्लब सञ्जाल विराटनगरको अध्यक्षमा आदित्य झा निर्वाचित हुनुभएको छ । विराटनगर महानगरपालिकाको सभाहलमा आज आयोजित आठौँ नगर बाल भेलाले सञ्जालको उपाध्यक्षमा दीक्षा आचार्य, सचिवमा अशोक खतिवडा, सहसचिवमा वेदिका घिमिरे र कोषाध्यक्ष कौशल न्यौपानेलाई चयन गरेको छ । श्रुति पुडासाई, दर्शन पौडेल, खुशीकुमारी गुप्ता, निकिसा कर्ण, चञ्चल मण्डल, निधी चौधरी र सुमन यादव सदस्यमा निर्वाचित हुनुभएको छ । त्यस्तै काजल कामत, शिवम कर्ण, इन्द्र यादव, आस्था साह, तुसार गोइत, शमिम आलम, सुरजकुमार यादव, सुस्माकुमारी ठाकुर, रितेज विश्वकर्मा, कृष्टिना निरौला, विदिशा भट्टराई र आदर्श अधिकारी पनि सदस्य पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । सञ्जालको संरक्षकमा महानगरका मेयर नागेश कोइराला हुनुहुन्छ । विराटनगर महानगरपालिकाका प्रमुख कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले बालबालिकामा प्रतिस्पर्धाको भावना जाग्नु सकारात्मक भएको बताउनुभयो । उहाँले प्रतिस्पर्धाको भावनाबाट नै बालबालिका क्षमतावान् बन्ने बताउनुभयो । जोखिममा रहेका बालबालिकाको अधिकारको पैरवी गर्ने संस्था सिविन नेपालका विराटनगर प्रमुख वासु अधिकारीले संविधान प्रदत्त बाल अधिकारलाई मजबुत गर्न सञ्जालले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताउनुभयो । उहाँले बालबालिकामा निःस्वार्थ सेवाको भावना हुने भएकाले यिनीहरूको परिचालनले बालअधिकार बुलन्द हुने बताउनुभयो ।