साँघुरा सडक, बढ्दो सवारी चाप, पैदलयात्रुको जथाभावी सड्क काट्ने बानी । यसले सडक दुर्घटना हुने जोखिम बढ्दो छ । बढ्दो ट्राफिक जामले पछिल्लो समय बागलुङ बजारभित्र छोटो दूरीमा पनि लामो समय लाग्ने गरेको सवारी चालकको गुनासो छ । सवारी चालकमात्र होइन, सदरमुकामको बढ्दो ट्राफिक समस्याले स्थानीय बासिन्दा र पैदलयात्रु पनि समस्यामा परेको गुनासो गर्छन् । दैनिकजसो हुने साना ठुला दुर्घटनालाई रोक्न, बढ्दो ट्राफिक जामलाई व्यवस्थान गर्न ट्राफिक प्रहरीले नयाँनयाँ तरिका अपनाइ रहेको छ । सडकको एकतर्फ मात्र आलो पालो पार्किङ गर्ने नियम बनाएको ट्राफिक प्रहरी यतिबेला जेब्रा क्रसिङ तथा लाइन मार्किङको काममा व्यस्त छ । बागलुङ बजारमा बागलुङ नगरपालिकाको सहयोग र जिल्ला ट्राफिक प्रहरी कार्यालयबीचको समन्वयमा जेब्राक्रसिङ तथा लाइन मार्किङको कार्य चलिरहेको छ । विसं २०७४ मा बागलुङका सक्रिय युवाको ‘ग्रुप युथ अफ बागलुङ’ नामक टोलीले बजारका विभिन्न भिडभाड बढ्ने विभिन्न टोल तथा स्थानमा मार्क लगाएका थिए । त्यसयता जेब्राक्रसिङ तथा लाइन मार्किङका कार्यमा सरोकारवाला निकायले चासो दिएनन् । बढ्दो ट्राफिक जाम, सवारी दुर्घटनालाई रोक्न पछिल्लो समय व्यस्त चोक तथ टोलमा लाइन मार्किङको काम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक राजकुमार केसीले जानकारी बताउनुभयो ।