इलाम देउमाई–२ का खगेन्द्र सुवेदी बसाइँ सरेर झापा बुधबारे झर्नुभयो । उहाँ परिवारसहित नै पाँच वर्षअघि बुद्धशान्ति गाउँपालिका झापा झर्नुभएको हो । कोरिया बसेर नेपाल फर्किनुभएका उहाँ जन्मथलो दुर्गम भएकै कारण सुगम खोज्दै झापा झर्नुभएको हो । स्वास्थ्य उपचार, शिक्षालगायतले तराईमा बढी विकास भएका कारण तराई झरेको उहाँको भनाइ छ । उहाँ तराई झरे पनि उहाँको पहाडमा भएको जमिन बिक्री भएको छैन । जमिन कमाउने मानिससमेत गाउँमा भेटिन छोडेका छन् । खगेन्द्रजस्तै तीन वर्ष पहिले नै गुरु अधिकारी पनि देउमाई नगरपालिका दुई छोडेर झापा बसाइँ झर्नुभयो । उपचारमा झापामा आउनुभएका उहाँ चिकित्सकले निरन्तर फलोअपमा आउनुपर्छ भनेपछि झापामा नै बस्न थाल्नुभयो । झापा बस्दाबस्दै उहाँले नयाँ ठाउँमा नै घर बनाएर बस्न थाल्नुभएको छ । उहाँको पहाड घर पनि त्यतिकै छ । केही समयका लागि सडक बनाउने ठेकेदारले घर भाडामा लिए पनि दीर्घकालीनरूपमा पहाडमा जमिन कमाउने र जमिन खरिद गर्ने मान्छे आउन छोडेको उहाँले बताउनुभयो । भर्खरै देउमाई दुईका टङ्क अधिकारीसमेत पुरानो ठाउँ छोडेर झापा झर्नुभएको छ । उहाँले पनि पहाडमा सुविधा नभएकै कारण तराई झर्नुपरेको सुनाउनुभयो । उहाँ एउटा गाउँमा नमूना व्यक्तिमात्र हो । बीचमा सोही गाउँबाट अन्य धेरैले गाउँ छोडेर सहर रोजेका छन् । उपचार गराउन सहर नै जानुपरेकाले पनि मानिसले गाउँ छोड्दै गएका छन् । नानीबाबुलाई विद्यालय पढाउन र उच्च शिक्षाका लागि पनि गाउँ नै छोड्नुपर्ने अवस्था आएको धेरैको भनाइ छ । अन्य धेरै तराई झर्ने सोचमा हुनुहुन्छ । पहाडमा खेती गर्न पनि झन्झट, ढुवानी महँगो, बिक्रीका लागि बजार खोज्नुपर्ने समस्यालगायतका कारण धेरैले गाउँलाई माया मार्न थालेका छन् ।