कैलालीको मध्य क्षेत्रमा रहेको पहलमानपुर गाउँका मानबहादुर रावतसहितका किसानले आफ्नो आलु बालीमा हरियो झण्डा टाँग्नुभएको छ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रमको पहिचानका साथै आलुखेतीमा क्रान्ति ल्याउने सन्देश दिनका लागि आलुबालीमा हरियो झण्डा फहराएको किसानले बताएका छन् । मुख्यमन्त्री नमूना कृषि (आलुखेती) समन्वय समितिको अध्यक्षसमेत रहनुभएका रावतले भन्नुभयो, “आलु उत्पादनमा क्रान्ति ल्याउन र मुख्यमन्त्री कृषि कार्यक्रमको पहिचान झल्काउन समन्वय समितिको निर्णयबमोजिम हरियो झण्डा टाँग्न लागेका छौँ ।” सो कार्यक्रमअन्तर्गत घोडाघोडी नगरपालिकाको पहलमानपुर गाउँलाई आलुको पकेट क्षेत्र बनाइएपछि झण्डै ८० बिघा क्षेत्रफलमा आलुखेती गरिएको छ । योसँगै आलुखेती गरिने क्षेत्रफल पनि विस्तार भएको छ । विगतमा गहुँ र मसुरोखेती गर्दै आएको खेतमा आलुखेती गरिएको छ । शिक्षण पेसामा समेत संलग्न रहनुभएका रावतले विद्यालयको समयपछि कृषि कर्ममा समय दिने गर्नुभएको छ । उहाँ एक्लैले आठ बिघामा आलुखेती गर्नुभएको छ । आलुखेतीमा झण्डै दुई सय १५ किसान समेटिएका छन् । आलुको चिप्स बनाउन प्रयोग हुने इन्नोभेटर र सजिता जातको आलुखेती गरिएको छ । यसका लागि बुटवलको आलु चिप्स उत्पादन गर्ने कम्पनीसँग सम्झौता गरिएको छ ।