नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । प्राधिकरणले लाइन काटेको छ महिनासम्म पनि सम्पर्कमा नआएका उनीहरूको कालोसूचीमा राखेको हो । कार्यालयका अनुसार उनीहरूबाट रु ७६ लाख ७५ हजार दुुई सय ८१ उठाउन बाँकी रहेको छ । कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार आर्थिक वर्ष २०६४/०६५ सालदेखि कालोसूचीमा रहेका ग्राहकसमेत रहेका छन् । कालोसूचीमा पर्नेमा दुई सय १५ गार्हस्थ्य ग्राहक रहेका छन् । औद्योगिक क्षेत्रका ४० ग्राहक, गैरव्यावसायिक छ वटा, व्यावसायिक दुई वटा, मन्दिर, पानी आपूर्र्ति, यातायात, सिँचाइ एक/एक वटा ग्राहक कालोसूचीमा रहेका छन् । कालोसूचीमा रहेका ग्राहकको तीनपुस्तेसहित सार्वजनिक सूचना निकालेर राखिएको उहाँले बताउनुभयो । यस केन्द्रअन्तर्गत ६३ हजार नौ सय ४९ ग्राहक रहेका छन् । उनीहरूबाट रु ३७ करोड ६४ लाख ४४ हजार एक सय ३३ बक्यौता उठ्न बाँकी रहेको छ । बक्यौता सबैभन्दा धेरै सरकारी कार्यालयको रहेको छ । कार्यालयको रु १३ करोड ७७ लाख ८२ हजार एक सय ५४ रहेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार सडक बत्तीको रु नौ करोड ५८ लाख ८९ हजार पाँच सय ३५ बक्यौता रहेको छ । व्यावसायिक भवनको रु एक करोड ५३ लाख ६२ हजार तीन सय ७८, गैरव्यावसायिक रु एक करोड २७ लाख छ हजार चार सय १९, औद्योगिक क्षेत्रको रु दुई करोड ९९ लाख ४३ हजार छ सय ५६ बक्यौता रहेको छ ।