नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय विभूति अरनिकोको मूर्ति निर्माण सुरु गरेकामा बजेट अभावका कारण रोकिएको छ । प्रतिष्ठानले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कुलपति कान्छाकुमार कर्माचार्यले १० वर्षअघि रु ५० लाख बजेटमा निर्माण सुरु गरेको मूर्ति ७५ प्रतिशत काम सकिएर अलपत्र बनेको बताउनुभयो । रु ५० लाख बजेट भए मूर्ति निर्माणको काम सकिने उहाँले कार्यक्रममा जानकारी दिनुभयो । यसका लागि प्रतिष्ठानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छ महिनाअघि रु ५० लाख बजेट माग गरेको थियो । माग गरिएको बजेट नपाउँदा आफ्नो कार्यकालमा मूर्ति निर्माण नसकिएको कुलपति कर्माचार्यले पत्रकार सम्मेलनमा बताउनुभयो । मूर्तिको ‘प्याडेस्टल’ बनाउन थप रु ५० लाख बजेट माग गरिएको पनि प्रतिष्ठानले जनाएको छ । वर्तमान पदाधिकारीको चार वर्षे कार्यकाल बिहीबार सकिँदै छ । प्रतिष्ठनले चार वर्षे कार्यकालमा प्रत्येक वर्ष ९४ प्रतिशतभन्दा बढी प्रगति गरेको जानकारी पनि सो अवसरमा गराइएको थियो । कोरोनाको महामारीका बाबजुद राम्रो काम भएको दाबी प्रतिष्ठानले गरेको छ । कोरोनाका कारण पनि प्रतिष्ठानको बजेट कटौतीमा परेको थियो ।