हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रमा निर्माण भएका झोलुङ्गे पुलले स्थानीय कृषि उत्पादनलाई बजारसम्म पु¥याउन सहयोगी भएका छन् । यसका साथै यी पुलबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गर्नसमेत सहज भएको छ । पहाडी जिल्लामा सडक अभावका कारण सवारीसाधन सञ्चालन हुन सक्दैनन् । त्यसैले स्थानीयले आफ्ना उत्पादन डोकोमा बोकेर सहरसम्म पु¥याउन पनि समस्या हुने गर्दछ । तर यी पुलका कारण खोला या नदिकिनारसम्मै पुग्ने र सहर उक्लिनुपर्ने अवस्था नहरकेकाले पुलबाटै उत्पादन बजारसम्म पु¥याउन सजिलो भएको छ । जिल्लाका विभिन्न स्थानमा स्टिलद्वारा निर्माण भएका ८० वटा यस्ता पुलले कृषि उत्पादनको बजारीकरण गर्न तथा आवतजावतमा सुविधा भएको हो । गाउँमा उत्पादन भएका फसल तथा अन्य कृषिजन्य उत्पादनले बिक्री हुन थालेपछि स्थानीयको जनजीवनमा समेत सकारात्मक परिवर्तन देखिएको रघुगङ्गा गाउँपालिका– ६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुंर्जाले बताउनुभयो । विगतमा जिल्लाका दुर्गम तथा पिछडिएका स्थानका खोलामा पुलको अभावले वर्षायाममा आउने बाढीका कारण स्थानीयले कष्टपूर्ण जीवन बिताउँदै आएका थिए । म्याग्दीमा निर्माण गरिएका झोलुङ्गे पुल सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, तात्कालीन जिल्ला विकास समिति, अन्तर्राष्ट्रिय संस्था कादुरी, बिबिएलको आर्थिक सहयोगमा अत्यधिक रुपमा निर्माण गरिएका छन् । म्याग्दीको रत्नेचौर र बागलुङको कुडूले जोड्ने ठूलो खोलामाथि निर्माण गरिएको तीन सय ८८ सय मिटर लामो झोलुङ्गे पुल जिल्लाकै सबैभन्दा लामो पुल मानिन्छ ।