मेक्सिकोको सीमामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउन कोभिड–१९ को सावधानी अपनाउने अमेरिकी सरकारको दुई वर्ष पुरानो नीति तत्कालका लागि कायम रहने सर्वोच्च अदालतले मङ्गलबारको फैसलामा सुनाएको छ । ‘टाइटल ४२’ भनिने विवादास्पद नियमलाई कायम राख्ने निर्णयले अमेरिका प्रवेशका लागि हजारौंले दक्षिणी सीमामा पर्खिरहेका समय राष्ट्रपति जो बाइडेनका लागि राजनीतिक सङ्कट निम्त्याएको छ । सन् २०२० को मार्चमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा ल्याइएको यो नीति तल्लो अदालतको आदेशअनुसार हटाइयो भने आप्रवासीको सङ्ख्या बढ्न सक्ने चेतावनी दिँदै १९ वटा राज्यबाट दायर गरिएको याचिकालाई कन्जरभेटिभ बाहुल्य रहेको उच्च अदालतले स्वीकार गरेको हो । सर्वोच्च अदालतले भनेको छ, “टाइटल ४२’ अर्थात् ४२–नियमहरू, जसले शरणका लागि योग्य हुनसक्ने व्यक्तिहरूलाई समेत छिटो निष्कासन गर्न अनुमति दिन्छ, यस विषयमा अर्को निर्णय नभएसम्म कायम रहनेछ र यसले फेब्रुअरीमा यस मुद्दाको सुनुवाइ गर्नेछ । “राज्यहरूले सीमामा आप्रवासन सङ्कटको सामना गर्नुपरेको र नीति निर्माताहरू यसलाई सम्बोधन गर्न पर्याप्त उपायहरूमा सहमत हुन असफल भएको दाबी गर्छन्,” अदालतले आफ्नो ‘५–४ को फैसला’मा भनेको छ ।