ओलम्पियन तथा तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्टले मङ्गलबार कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिलबुद्ध एकेडेमीका विद्यार्थीलाई आफ्नो खेलजीवनको विगत सुनाउनुभयो । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको रैकवार बिचुवामा जन्मिएर गाउँकै विद्यालयमा पढ्दा आफू भलिबल खेल्ने गरेको र पछि अध्ययनसँगै खेलकुदलाई निरन्तरता दिँदै जाँदा ओलम्पिकसम्मको यात्राको अनुभव सुनाउनुभयो । “कक्षा ८ मा पढ्दा खेल्ने भलिबल नभएर मोजाको बल बनाएर खेल्थे”, विष्टले विद्यार्थीमाझ भन्नुभयो, “सुदूरपश्चिम कीर्तिमानी खेलाडी जन्माएको भूमि हो ।” ओलम्पिक पुग्ने खेलाडी स्कुलस्तरबाटै आउने गरेको ओलम्पियन विष्टले बताउनुभयो । “आइएस्सी पढ्न महेन्द्रनगर आउँदादेखि यहाँको अपार मायाको सम्झना आइरहन्छ”, उहाँले भन्नुभयो, “खेल प्रतिस्पर्धाका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि उत्तिक्कै आवश्यक छ ।” स्वस्थ्य व्यक्ति जुनसुकै क्षेत्रमा पनि सफल हुने भएकाले २४ घण्टामा एक घण्टा भए पनि खेलकुदलाई दिनुपर्नेमा ओलम्पियन विष्टले जोड दिनुभयो । दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा कीर्तिमानी चार स्वर्ण जितेका विष्ट सन्् २०१० मा बङ्गलादेशमा भएको ११औँ सागपछि रिङमा उत्रिनुभएको छैन । विद्यार्थीलाई अनुभव सुनाउने क्रममा ओलम्पियन विष्टले आफूले एसियाली खेलकुदमा दुई काश्य जित्दाको अनुभव सुनाउनुभयो ।
