नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । उहाँले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताउनुभएको छ । आज विहान भएको नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि उहाँले वताउनुुभयो । “महासङ्घ अर्थतन्त्र जोगाऔं भन्ने अभियानमा लागेको छ, यति विहानै भेटघाटका लागि आउनुु भयो, त्यही विषयमा तपाईंहरु चिन्तित हुनुुहुन्छ र समस्या समाधानका लागि भनिरहनुु भएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ”, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भएको भेटमा मुलुकको अर्थतन्त्रको पुनरुत्थानबारे विचार विमर्श भएको महासङ्घको भनाइ छ । महासङघ अध्यक्ष शेखर गोल्छाले नवनियुक्त प्रधानमन्त्रीलाई सिङ्गो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुुभकामना दिनुहुँदै अर्थतन्त्रको वर्तमान अवस्थाबारे अवगत गराउनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले महासङ्घकातर्फबाट यसअघि दिइएको सुुझाव अध्ययन पनि गरिरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने विश्वास व्यक्तगर्नुभयो ।