किसानमा आवश्यक सूचनाको सहज पहुँच उपलब्ध गराउन काठेखोला गाउँपालिकाले ‘कृषि फर्म’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले तयार गरेको ‘कृषि फर्म’ एप मोबाइलमा डाउनलोड गरेपछि अब काठेखोलाका किसान आफ्नै लागि आवश्यक सूचना र सन्देशबाट वञ्चित हुने छैनन् । मोबाइल एप निर्माण, व्यवस्थापन र सञ्चालनको विधि तथा आर्थिक सहयोग विवाइसी बागलुङको व्यवस्थापनमा सञ्चालित हेफर इन्टरनेसनल परियोजनाले गरेको हो । उक्त सेवा निःशुल्क हुने हेफरइन्टरनेसनलका कार्यक्रम संयोजक तारा पन्थीले बताउनुभयो । परियोजनाले किसानमा कृषि सूचनाको पहुँच पु¥याउने उद्देश्यले मोबाइल एप सहयोग गरेको हो । परियोजनाले गाउँपालिकाको पशु तथा कृषि शाखामा रहने ‘किस्का मेसिन’ हस्तान्तरण गरेको छ । उक्त मेसिनमा कृषि फर्म मोबाइल एप जडान गरिएको छ । किसानले एपमार्फत् कृषि विज्ञ तथा गाउँपालिकाको विषयगत शाखासँग समन्वय गरी सूचना प्राप्त गर्न सक्छन् । एपबाट खेतीपाती गर्ने तरिका, रोग तथा किराबारे जानकारी पाउन तथा मौसम अनुसारको खेतीपाती गर्नु सहज बनाउने हेफर इन्टरनेसनलका कार्यक्रम संयोजक तारा पन्थीको भनाइ छ । उक्त सेवाबाट किसानहरुले घरमै बसेर मौसम र कृषिसम्बन्धी जानकारी पाउनेछन् भने किसान कृषि उत्पादनको सूचनासँग सहजै जोडिन सक्नेछन् । बाली लगाउने सही समय, मल व्यवस्थापन, सिँचाइ बाली बिरुवाको शत्रु तथा तिनको रोकथाम जस्ता जानकारी एपमार्फत् लिन सकिनेछ ।