पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क बढ्दै गएको छ । यसले गर्दा हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ भने लगाएकाहरूले पनि पाक्ने बेलासम्म जोगाउन हम्मेहम्मे पर्ने गरेको छ । जिल्लाको कुश्मा नगरपालिका–९ का पुनाखर पराजुलीले विगत वर्षसम्म १८ रोपनी खेतमा गहुँखेती गर्दै आए पनि अहिले बाँझै रहेको बताउनुभयो । विगतमा मङ्सिर तेस्रो सातासम्म गहुँ उम्रिएर हरियाली हुन्थ्यो । यतिबेला गहुँमा सिँचाइ गर्न व्यस्त हुने पुनाखर यतिबेला फुर्सदिलो बन्नुभएको छ । बाँदर आतङ्क बढ्दै गएपछि पुनाखरको सँगै जोडिएको विष्णुहरि पराजुली र टीकाराम तिवारीको ५० रोपनीभन्दा धेरै जमिन पनि बाँझै छाड्नुभएको छ । उहाँहरूले धान थन्क्याइसकेपछि सबै जग्गा बाँझै छोड्नुभएको छ । “धान जेनतेन थन्क्याउन सकिन्छ”, टीकारामले भन्नुभयो, “हिउँदेखेती जति नै प्रयास गर्दा पनि जोगाउन नसकेपछि आजित भइयो, लगाउनै छोडियो ।” त्यसैगरी फलेवास–४ का रामप्रसाद गौडेलले लगाएको ४० केजी आलु उम्रिन नपाउँदै एक हुल बाँदर पसेर सर्वनास पारिदियो । बिहादी गाउँपालिका–३ का रामु पराजुलीले सहकारीमार्फत बर्सेनि एक सय रोपनीमा सामूहिक आलुखेती गर्दै आउनुभएको थियो । तर बाँदरबाट जोगाउन नसक्ने भएपछि पछिल्लो तीन वर्षयता आलु रोप्नै छाडेको बताउनुभयो ।