संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारीबाट थलिएको पर्यटन पुनरुत्थानको रणनीतिक कार्ययोजना तयार गर्नेदेखि अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने तथा अमेरिकालगायत मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारीलगायत महत्वपूर्ण काम गरेको छ । निवर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रीको जिम्मेवारी सम्हालेको एक सय ८३ दिनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन, दिगो पर्यटन विकासको रणनीतिक कार्ययोजना तयार गर्नेदेखि अन्तर्राष्ट्रिय जगतमा हवाई सम्पर्क सञ्चालन विस्तारका साथै हवाई पूर्वाधारमा समेत महत्वपूर्ण काम भएको छ । विसं २०७९ असार १२ गते पर्यटनमन्त्रीमा नियुक्त हुनुभएका मन्त्री श्रेष्ठको नेतृत्व र पहलमा एक सय ८३ दिनको अवधिमा सम्पादन गरिएका प्रमुख कार्य सार्वजनिक गर्दै मन्त्रालयले पन्ध्रँैं पञ्चवर्षीय योजना, दीगो विकासको लक्ष्य तथा सरकारको नीति तथा कार्यक्रमले निर्दिष्ट गरेबमोजिम पर्यटन प्रवद्र्धन, पुरातत्व एवम संस्कृति संरक्षण र नागरिक उड्डयनको समग्र विकासमा मन्त्रालयले प्रभावकारी भूमिका खेलेको उल्लेख गरिएको छ । पर्यटन पूर्वाधार सहित समग्र वकिासका लागि पर्यटन दशकको अवधारणा अघि सारिएको छ । नेपाल सरकारले सन् २०२३ देखि २०३२ लाई नेपाल पर्यटन दशकका रूपमा मनाउने निर्णय गरेकाले उक्त अभियानलाई सफल बनाउन नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजनाको रुपरेखा तयार गरी सार्वजनिक गरिएको छ । अमेरिकी, स्वीजरल्याण्ड, रुवाण्डालगायतका मुलुकसँग हवाई सम्झौताको तयारी अन्तरिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।