कैलालीको लम्की–टीकापुर–खक्रौला सडकखण्डको निर्माण सामग्री नपाउँदा समयमै सम्पन्न हुन नसकेको निर्माण कम्पनीले बताएका छन् । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माण सुरु भएको लम्कीदेखि खक्रौलासम्मको २९ दशमलव सात किलोमिटर सडकलाई समयमै सम्पन्न गर्नका लागि तीन खण्डमा ठेक्का गरिएको थियो । माटो तथा ग्राभेललगायतका निर्माण सामग्री नपाएकै कारण समयमा काम सम्पन्न गर्न नसकिएको जनाइएको छ । स्थानीय सरकारसँग सहयोग माग्दा समन्वय नगरेको र सडकको बेसका लागि चाहिने माटो र ग्राभेल समयमा नपाएका कारण काम समयमा सम्पन्न हुन नसकेको उहाँहरु गुनासो छ । सडकको पहिलो खण्ड अर्थात् लम्कीदेखि पथरैयासम्मको सडक कालोपत्रेको जिम्मा पाएको कालिका कुमार जेभीका साइड प्रमुख हरिनाथ योगीले काम भइरहेको बताउनुभयो । उहाँले कोरोनाका कारण भएको बन्दाबन्दी, बर्सातको समयमा काम हुन नसक्नु र ढुङ्गा, गिट्टी, बालुवाजस्ता नदीजन्य निर्माण सामग्रीको अभावका कारण काम समयमै सम्पन्न हुन नसकेको बताउनुभएको हो । उहाँले सडकको ६५ प्रतिशत काम सम्पन्न गरेको दाबी गर्नुभयो । उक्त सडकको एक हजार आठ सय मिटर कालोपत्र गरिएको र आगामी जेठ मसान्तभित्र सडक कालोपत्रको काम सकाउने उहाँ बताउनुहुन्छ । “हामी धमाधम काम गरिरहेका छौँ आगामी जेठ मसान्तसम्म सबै काम सक्ने गरी काम थालेका छौँ”, उहाँ भन्नुहुन्छ, “अब ढिलाइ हुँदैन । नदीजन्य पदार्थको आपूर्तिमा समस्या भएका कारण पनि काममा अवरोध भएको छ । सहयोग र समन्वय भनेअनुसार पाएका छैनौँ ।” दोस्रो खण्डको एपेक्स खड्का कृष्ण जेभी र तेस्रो खण्डको रायमाझी गल्वा जगदम्बा जेभीले निर्माण गरिरहेको छ । दुई निर्माण कम्पनीको प्रगति पहिलो खण्डको भन्दा कम छ ।