गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा यसवर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा यसवर्ष धानखेती गरिएको क्षेत्रफलको आधारमा क्षेत्रफल घट्दा धान उत्पादनमा समेत कमी आएको हो । गत वर्ष १४ हजार २६० हेक्टर जमिनमा धान खेती गरिएकामा यसवर्ष १२ हजार एक सय २५ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४० हजार ५० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो । उहाँका अनुसार यसवर्ष जिल्लामा दुई हजार एक सय ३५ हेक्टर जमिनमा धान खेती कम भएको र गत वर्षको तुलनामा चार हजार सात सय २६ मेट्रिक टन धान कमी भएको छ । यसवर्ष जिल्लामा खेतीयोग्य जमिनमध्ये ९७ प्रतिशतमा धान खेती गरिएको थियो भने करिब तीन प्रतिशत जमिन बाँझो रहेको छ । समयमै वर्षा, पर्याप्त मल र उन्नत जातका धानको बीउको अभाबका साथै क्षेत्रफल पनि कम हुँदा उत्पादनसमेत कमी हुन थालेको छ । गतवर्ष १४ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार सात सय ७६ मेट्रिकटन धान उत्पादन भएको थियो । सुन्दरबजार नगरपालिका–४ का लक्ष्मण लामिछानेले गतवर्ष करिब ३० रोपनी क्षेत्रफलमा धानखेती गर्नुभएकामा यसवर्ष २० रोपनी क्षेत्रफलमा गरिएको धान खेतीबाट करिब ७० मुरी धान उत्पादन भएको उहाँको भनाइ थियो । गत वर्षमा ३० रोपनीमा धानखेती गर्दा ८० देखि १०० मुरिसम्म धान उत्पादन गर्दै आए पनि गोरु, कामदार अभावलगायत कारण कम क्षेत्रफलमा धानखेती गर्नु परेको उहाँले बताउनुभयो ।